बंगलाले काठमाडौं उडान थाल्यो

जेष्ठ ४, २०७३- तीन वर्षअघि बंगलादेशमा स्थापना भएको यूएस–बंगला एयरलाइन्सले आइतबारदेखि ढाका–काठमाडौं–ढाका व्यावसायिक उडान सुरु गरेको छ । कम्पनीले आइतबार, मंगलबार र बिहीबार मात्रै उडान भर्ने आफ्नो वेब पेजमा उल्लेख गरेको छ ।

बंगलादेशमा आन्तरिक उडान मात्रै भर्दै आएको यूएस–बंगलाको नेपाल पहिलो अन्तर्राष्ट्रिय गन्तव्य हो । त्रिभुवन विमानस्थलका प्रवक्ता भोला गुरागाईंका अनुसार यो विमान थपिएसँगै काठमाडौंमा अन्तर्राष्ट्रिय उडान भर्ने १३ मुलुकका २९ वटा एयरलाइन्स पुगेका छन् ।

गत फागुनमा काठमाडौं उडान अनुमतिका लागि प्रक्रिया थालेको यो विमानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत पहिलो साता अनुमति दिएको थियो । यो कम्पनीसँग ३ वटा बमवार्डियर ड्यास एट विमान छन् । मध्यमवर्गीय यस विमानमा ७६ सिट हुन्छ । यो विमानले ०७१ साउनदेखि बंगलादेशमा आन्तरिक रुटबाट हवाई सेवा सुरु गरेको थियो । काठमाडौं–ढाकाको उडान अवधि १ घन्टा १० मिनेटको हाराहारी हो । यसले दुईतर्फी भाडादर ४१ हजार रुपैयाँ हाराहारी भनेको छ ।

नेपाल सरकारबाट बंगलादेशका जीएमजी एयरलाइन्स, युनाइटेड एयरलाइन्स, रिजेन्ट एयरलाइन्स र विमान बंगलादेशले उडान अनुमति लिएका छन् । यीमध्ये यूएस–बंगला र विमान बंगलादेशबाहेक अन्यले काठमाडौं उडान भरिरहेका छैनन् । रिजेन्ट एयरलाइन्सले भूकम्पअघि उडान अनुमति पाएको थियो तर सुरु गरेको छैन ।

जीएमजी र युनाइटेड एयरलाइन्सले हाल उडान स्थगन गरेका छन् । यसैबीच बंगलादेशकै अर्को कम्पनी नोभो एयरले पनि काठमाडौं–ढाका उडानको अनुमति लिने तयारी गरिरहेको छ । नेपालले हालसम्म ३८ वटा देशसँग हवाई सेवा सम्झौता गरेको छ ।