अंग्रेजी सिरियलको मुख्य भुमिकामा नेपाली युवा

जेष्ठ ४, २०७३- अष्ट्रेलियाका एक नेपाली युवा अमेरिकाबाट प्रशारण हुने एक टेलिभिजन सिरियलको मुख्य भुमिकामा अनुबन्ध भएका छन् ।

अर्घाखाँचीमा जन्मिएका युवा राजीव भूसाल अमेरिकाबाट प्रशारण हुने कमेडी लभ स्टोरी ‘डेटिङ विथ कोरी’ मा अभिनय गरिरहेका छन् । उनका अनुसार १२ भागसम्म प्रशारण हुने उक्त टेलिचलचित्रमा उनका साथै अष्ट्रेलियाली कलाकारहरु बेक ग्लासकोक र क्या स्टेवार्ड, अमेरिकन कलाकार मउरिस स्कट र क्यानाडियन कलाकार टोरी ब्राउनिन पनि अभिनय गरिरहेका छन् । ‘यो मेरो लागि मात्र नभएर कलाकारिता क्षेत्रमा लाग्न चाहने हरेक नेपालीहरुको लागि खुसीको खबर हो । सिड्नीमा रहेर कलाकारिता अध्ययन समेत गरिरहेका भुसालले कान्तिपुरसँग भने, 'यसले मलाई नेपाली र अंग्रेजी दुबै क्षेत्रको कलाकारितामा बाटो खुल्ला गर्छ भन्ने आशा छ ।’

अहिले अष्ट्रेलियामा सुटिङ भइरहेको यो सिरियललाई अष्ट्रेलिया र अमेरिकाको लस एन्जल्समा चलचित्र निर्माणमा लागि परेका जेम्स प्राटले निर्देशन गरिरहेको भूसालले बताए । उक्त सिरियलको मुख्य भुमिकामा बिदेशबाट आएको एउटा लभर ब्वायको भुमिका आफ्नो रहेको उनले जानकारी दिए । यसपहिले केही म्युजिक भिडियोका साथै केही अंग्रेजी छोटो चलचित्रहरुमा अभिनय गरिसकेका भूसालले यसमा काम पाउनका लागि आफुले धेरै मेहनत गरेको बताए । अष्ट्रेलियामा बनेको डकुमेन्ट्री ‘मेक अ विस अष्ट्रेलिया’ मा पनि अभिनय गरिसकेका उनी अहिले एक्टर सेन्टर अष्ट्रेलियामा थिएटर एक्टिङको अध्ययन गरिरहेका छन् ।

विद्यार्थीका रुपमा करिब ८ बर्षअघि अष्ट्रेलिया आएका उनले यो अवसर आफ्नो लागि मात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको दाबी गरे । यसले कुनै नेपाली कलाकारले समेत अंग्रेजी चलचित्रमा काम गर्न सक्छ भन्ने प्रमाणित गरेको दाबी गरे ।