यौन सम्पर्क गर्न नमानेपछि भेनिशा लिम्बुको अपार्टमेन्टको छैठौं तलाबाट खसालेर हत्या
पक्राउ पर्नेमा काठमाडौं बौद्ध निवासी सन्नी लामा, सजिव लामा, राजन राई छन् ।
कपन निवासी भेनिशा लिम्बु माग ८ गतेदेखि नै घरबाट सम्पर्क विहीन भएकी थिइन् । प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार अभियुक्तहरु मध्ये सन्नी राईसँग उनको अफेयर रहेको थियो ।
अुनसन्धानको क्रममा अभियुक्तहरूसँगै भेनिशा राति ठमेलको हार्ड रक डिस्कोमा गएर रमाइलो गरेको र त्यसपछि बौद्ध गेटस्थित एक अपार्टमेन्टमा गएर बसेको खुलेको छ । ‘सन्नी, भेनिशा र फरार अभियुक्त मदिरा सेवन गरि अपार्टमेन्टमा सँगै बसेको दखियो,’ महाशाखा प्रमुख खनालले भने, ‘सन्नीले त्यहाँ भेनिशासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । त्यसपछि हाल फरार रहेका अभियुक्तले पनि यौन सम्पर्क गर्ने प्रयास गर्दा उनले नमानेपछि अपार्टमेन्टको छैठौं तलाबाट खसालिदिएका थिए ।’
प्रहरीका अनुसार यौन सम्पर्क गर्न नमान्दा छैठौं तलबाट खसालिएकी भेनिशालाई अस्पताल लैजाने भन्दै सन्नी र ती फरार अभियुक्तले गाडीमा हालेर अपार्टमेन्टबाट निस्किएका थिए । तर, अस्पताल नलगेर रातभर गाडी मै उनलाई काठमाडौं वरपर नै घुमाइएको र सोही बखत उनको गाडीमा नै मृत्यु भएपछि भेनिशाको शवलाई नगरकोट लगेर फालिएको थियो ।
एसएसपी खनालका अनुसार अभियुक्तहरुलाई सर्लाहीमा लुकिछिपि बसेको अवस्थामा महाशाखा टोलीले पक्राउ गरेको हो भने एकजना अभियुक्त अझै फरार छन् ।

