उत्तर कोरियाले आफ्नो सेना दक्षिण कोरियासँग युद्ध गर्न तयार भएको दाबी गरेको छ ।

सोल: उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा संयुक्त रूपमा गरिएको सैन्य अभ्यासको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय खरानी बनाउने चेतावनी दिएको छ।

उत्तर कोरियाले आफ्नो सेना दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हाय प्रशासनलाई हटाउन युद्ध गर्न तयार भएको दाबी गरेको छ । कोरियाको शान्तिपूर्ण एकीकरणका लागि बनाइएको समितिका तर्फबाट यस्तो जानकारी दिइएको छ।
उत्तरले आफूले युद्धको सुरुवात चोङवाडेईस्थित राष्ट्रपति कार्यालय र यसको आसपासका क्षेत्रबाट गर्ने पनि धम्की दिएको छ। उत्तर कोरियाका अनुसार उसले एकपटक लार्ज क्यालबर मल्टिपल रकेट लन्चरको बटन दबाउनेबित्तिकै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय कार्यालय खरानीको थुप्रो हुनेछ।

सोमबार उत्तर कोरियाका नेता किम जुङ उनले यो नयाँ लार्ज क्यालिबर मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका थिए। मार्च महिनामा उनले दुईपटक नयाँ विकसित हतियारको परीक्षणको अवलोकन गरेका थिए।

दक्षिणमा उच्च सैनिक सतर्कता
दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हाले सेनालाई उच्च रूपमा सतर्क रहन बिहीबार निर्देशन दिएकी छन्।उत्तर कोरियाले दक्षिण अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने संकेत प्राप्त भएको भन्दै आफ्नो सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएकी हुन्।

यसै क्रममा बिहीबार राष्ट्रपति हायले देशव्यापी रूपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलाप बढाउन आग्रह गरेको त्यहाँको सेनाले बताएको छ। दक्षिण कोरियाली राष्ट्रपति हायले सूचनामा सेनालाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकी थिइन् । उनले सर्वसाधारण नागरिकलाई पनि परिस्थिति संकटकालीन भएकोले सावधानी अपनाउन आह्वान गरेकी छन्।

उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि अर्को परीक्षणको तयारी गरिरहेको जनाइएको छ।दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हीले उत्तर कोरियाले पाँचौंपटक यस्तो परीक्षण गर्दै गरेको जानकारी पाएको खुलासा गरेका थिए । आफूहरू त्यसका लागि त्यसको प्रतिकारको तयारीमा बसेको उनको भनाइ थियो।

उनले उत्तर कोरियाले गत साता पनि यस्तै ब्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको दाबी गरेका थिए।उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ।

गत सातामात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेका थिए। अमेरिका र संयुक्त राष्ट्रसंघले यस्तो नाकाबन्दी गरेका हुन्। उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भने पनि दक्षिण केही डराए जस्तो देखिन्छ।

उनले भनिन्, 'परिस्थिति असहज मात्र हो। यसले हामीलाई केही गर्दैन।' यद्यपी यस्तो अवस्थामा सतर्कता र सावधानी सबै पक्षबाट अपनाउनुपर्ने उनको धारणा छ। पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्को गरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि उत्तर र दक्षिण कोरियाबीच निकै तनाव उत्पन्न भएको छ।-एजेन्सी