सुर्ती सेवनबाट दैनिक ५० जनाको मृत्यु

चितवन: सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा दैनिक झन्डै ५० जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज पूर्वी चितवनको सौराहामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो।

नेपालको कुल जनसङ्ख्याको करिब ५० प्रतिशत मानिसले खुलेआम तथा लुकीछिपी सुर्तीजन्य प्रदार्थको सेवनबाट क्यान्सरजस्तो भयानक रोगले बर्सेनि १७ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युदर ६२ प्रतिशत रहेको बताए। उनले सर्नेभन्दा नसर्ने रोगबाट मर्नेको सङ्ख्या बढिरहेको समेत बताए।

विश्व स्वास्थ्य सङ्गठनकी नसर्ने रोगको स्रोत व्यक्ति डा लोनिम प्रसाईं दीक्षितले ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत छ। नसर्ने रोगहरु क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुरोग सुर्तीजन्य पदार्थको सेवन र खानपानका कारण लाग्ने गरेको छ।

कार्यक्रममा व्यवस्थापिका-संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले मृत्युदर घटाउन विसं २०६३ मा बनेको कानुन परिमार्जन गरी विसं २०६८ मा पारित ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताइन्।