लेस्टरको ‘दन्त्यकथा’ जस्तो सफलता

वैशाख २२, २०७३- लाखौंले खुसीयाली मनाए । अनि विश्वका करोडौंले हेरे, कसरी ५०००–१ को बाजी राखिएको ‘अन्डर डग’ ले दन्त्यकथा झैं लाग्न सक्ने सफलता प्राप्त गर्न सक्छ ।

विश्व खेलकुदमा यो शताब्दीकै सर्वाधिक अविश्वनीय र महान् मानिएको उपलब्धीका रूपमा लेस्टर सिटीले सोमबार राति इङलिस प्रिमियर लिग जित्यो । लिगको दोस्रो स्थानमा रहेको टोटनहम २–२ को बराबरीमा रहेपछि लेस्टरले लिग जित्ने तय भएको हो ।

गत वर्ष रेलिगेसनबाट बल्लतल्ल बचेको लेस्टरले यसपटक लिग जित्ने छ भनेर कसैले विश्वास पनि गरेका थिएनन् । तर सबैको विश्वासको उल्टो लेस्टरले विश्व फुटबलका सर्वाधिक धनी र ग्ल्यामर क्लबलाई पन्छाएर लिग च्याम्पियन टिम बन्यो । लेस्टरले अहिलेसम्म लिगमा ३६ खेल खेलेको छ र त्यसमध्ये २२ मा जित निकालेको छ ।

लेस्टरले दुई खेल बाँकी छँदै उपाधि चुमेको हो र यसक्रममा आर्सनल, म्यानचेस्टर सिटी, म्यानेस्टर युनाइटेड र लिरभपुल जस्ता ऐतिहासिक रूपमा फुटबल शक्ति रहेका क्लबलाई धेरै पछाडि छाड्यो । गत सिजन रेलिगेसनबाट अन्तिम समयमा बचेको लेस्टरले यसपटक लिग जित्ने छ भनेर सुरुमा ५०००–१ को बाजी राखिएको थियो । तर थाइ लगानी भएको क्लबलाई इटालीका व्यवस्थापक/प्रशिक्षक क्लाउडियो रेनेरीले अद्वितिय सफलता दिलाए ।

सस्ता र अरु क्लबले विश्वास नगरेका खेलाडी लिएर उत्रेको मिडल्यान्ड क्लब लेस्टरले सन् १९७८ मा नटिङघम फरेस्टले प्राप्त गरेको सफलता जस्तै यात्रा तय गरेको थियो । फरेस्टले त्यति बेला पुरानो लिग र युरोपेली उपाधि जितेको थियो । तर यसपल्ट लेस्टरको उपलब्धी त्यसभन्दा पनि ठूलो मानिएको छ, किनभने अहिले इङलिस प्रिमियर लिग विश्वमै सर्वाधिक हेरिने र धनी लिग मानिन्छ ।

क्लबले लिग जित्ने तय भएपछि लेस्टरका समर्थक सहरको बाटो र चोकमा निस्केका थिए । त्यस क्रममा उनीहरूले क्लबको निलो र सेता रङ्ग अंकित झन्डा फहराए । त्यस क्रममा लेस्टरका यस सिजनका नायक जेमी भार्डेको घर अगाडि गएर पनि खुसीयाली मनाए । अब लेस्टरले शनिबार घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ र यसक्रममा किङ पावर स्टेडियममा हुने खेलमा लिग उपाधि उचाल्नेछ ।